logo मंगलबार, साउन १२ २०८३ | Tuesday 28th July 2026

संसद् सञ्चालनदेखि सुनसरी घटनासम्म सभामुख–आङ्देम्बेबीच छलफल


  • जन आकाश
  • मंगलबार, साउन १२ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।



सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो ।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।सुनसरीको देवानगन्ज घटनामा एक जनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए ।

साथै पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकार दुवैले गम्भीरतापूर्वक पहल गर्नुपर्ने विषय पनि उनले उठाएका थिए ।

त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए । स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend