जन आकाश
रामचन्द्र कार्की।
कप्तानगन्जको दुःखद एवं हृदयविदारक घटनालाई राजनीतिकीकरण गर्न बन्द गरियोस्।
धर्म, जातजाती, वर्ग र पहिचानका मुद्दालाई अतिरन्जित तुल्याएर राजनीति गर्नेहरु अहिले यो घटनालाई तड्का मसलाको रुपमा लिएर राजनीति गरिरहेका छन् ।
यहां जो मरे वा मारिएको भनिएपनि नेपाली नागरिकले नै धार्मिक हिंसा प्रतिहिंसाको कारणबाट अनाहकमा ज्यान गुमाउनु परेको हृदयविदारक घटनाको यथार्थता रहेको छ।
सामाजिक सदभाव बिथोल्ने र आगोमा घिउ थप्ने कार्य गरी भड्काउंदै यस्तो प्रकारको गम्भीर प्रकृतिको घटनालाई राजनीतिकीकरण गरेर मुलुकलाई पुनः राजनीतिक अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास वर्तमान सन्दर्भमा आम नेपाली नागरिकलाई अत्यन्त अहितकर हुन्छ।
दुरदराजमा भएका यस्ता सामाजिक सदभावमा खलल पुग्ने र हिन्दु मुस्लिम बिच सदियौंदेखि रहेको सुमुधुर सम्वन्धलाई खण्डित गराई समिश्रित समाजलाई द्वन्द्व, हिंसा प्रतिहिंसातर्फ उन्मुख एवं उक्साहट प्रदान गर्ने किसिमका अभिव्यक्ति वा सामाजिक सन्जालमा दिईने प्रतिक्रिया बिलकुल बन्द गरिनुपर्छ ।
सरकारबाट अविलम्व घटनाको गहिराईमा पुगेर सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही र भविष्यमा यस्ता प्रकृतिका घटनाहरु दोहरिन नदिन आवश्यक प्रभावकारी कदमहरु शीघ्र कार्यन्वयनमा ल्याउन जरुरी रहेको छ ।
विशेषगरी नेपाल-भारत बीच रहेको खुल्ला सीमानाको विभिन्न अवान्छित तत्वहरु, अपराधिक समूह, विभिन्न देशका शरणार्थीहरु र अवैध कारोवारीहरुले विगतदेखि उनीहरुको लक्ष्य अनुसार निर्वाधरुपमा प्रयोग गरि फाईदा लिने गरिरहेको देखिएकोले दुवै देशको आपसी समझदारीमा खुल्ला सीमानालाई बन्द गरी नियन्त्रित सिमाना कायम गर्नेतर्फ शीघ्र नेपाल सरकारले पहलकदमी गर्नुपर्ने देखिन्छ।
वर्तमान अवस्थामा कुन कुन देशका शरणार्थीहरुले नेपाली भूमीलाई सुरक्षित आश्रयस्थलको रुपमा प्रयोग गरि यस्ता प्रकृतिका गतिविधिहरु सन्चालन गरिरहेका छन् उनीहरुलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, सामाजिक सदभाव कायम गरी नेपाली-नेपाली बीच फुट ल्याउने काम अविलम्व बन्द गरियोस्।
नेपाल सुन्दर छ …..
यसलाई बिगार्ने कुरुप मन र हातहरु हामी बीच नै छन्, पहिचान गरौं र शुरुमा सुध्रिने मौका दिऔं । त्यसपछि पनि नभए समाजमा रहेका यस्ता विष बृक्षहरुलाई कानूनको समुचित प्रयोग गरेर जरैबाट उखलेर उन्मुलन गरौं।
जय देश..जय नेपाल आमा🙏🏻
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend