logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कोशी सरकारबारे कार्कीको अडान,अहिलेसम्म राजीनामाको कुरा भएको छैन


  • जन आकाश
  • सोमबार, साउन १८ २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले राजीनामा दिन दबाब दिइरहेका बेला कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले यसबारे मुख खोलेका छन्।



मुख्यमन्त्री पदबाट राजीनामा दिनु भन्ने ओलीको सन्देश लिएर विराटनगर आएका पार्टी प्रदेश इन्चार्ज शेरधन राई सहितको बैठकमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीले सोमबार सन्चारकर्मीसँग आफ्ना कुरा राखेका हुन्।

त्यसक्रममा उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको बताउँदै यो सरकार आफ्नै ढंगले अघि बढ्ने उल्लेख गरेका हुन्।

संवैधानिक र पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई आधार बनाउँदै राजनीतिक जीवनमै पहिलोपटक ओलीलाई खुला चुनौती दिएका कार्कीले पार्टी कमिटीको निर्णय आए राजीनामा दिने बताउँदै आएका छन्।

‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ उनले बैठकपछि भने, ‘६५ भन्दा बढी प्रदेश सभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो। यो उपधारा ५ को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ।’

आफू अझै पनि एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै रहेको दोहोर्याउँदै मिडियामा आएका विभिन्न अड्कलबाजी तथ्यमा आधारित नरहेको उनले दाबी गरे।

बैठकमा नेकपा र एमालेबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न तथा संसदीय दललाई एकताबद्ध बनाएर अघि बढ्निन इन्चार्जले निर्देशन दिएको उनले बताए।

सरकारको नेतृत्वबारे पार्टीभित्र छलफल जारी रहेको स्वीकार्दै उनले शेरधन राईले उल्लेख गरेको ‘सानो गाँठो’ चाँडै फुक्ने विश्वास व्यक्त गरे।

आजको बैठकमा चाहिँ के भयो भन्ने जिज्ञासामा उनले भने ‘इन्चार्जले एउटा सानो गाँठो फुक्न बाँकी छ भन्नुभयो। त्यो प्रदेश सरकारको नेतृत्व कसले गर्छ भन्ने विषय हुन सक्छ। तर त्यसमा कुनै ठूलो समस्या छैन। गाँठो छैन भन्ने लाग्छ। गाँठो रहेछ भने पनि देखिएला।’

पार्टी अध्यक्ष ओलीले आफूलाई मार्गप्रशस्त गर्न भनेको भन्ने चर्चालाई पनि कार्कीले अस्वीकार गरे।उहाँ र मेरो बीचमा अहिले त्यस्तो कुरा भएको छैन। उहाँले कसरी अगाडि बढ्ने भनेर सोध्नुभएको छ, मैले पनि आफ्ना कुराहरू स्पष्ट पारेको छु,’ उनले भने।

संसदीय दलमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन भइरहेको चर्चाबारे पनि उनले आफूलाई कुनै औपचारिक जानकारी नभएको बताए।हल्लाखल्ला सुनेको छु, तर त्यसको चाल पाएको छैन,’ उनले भने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend