जन आकाश
ऐतिहासिक भूमि गोरखा
वीरहरूको पवित्र भूमि, इतिहासले सजिएको,
गोरखा हाम्रो शान हो, गौरव पुर्खाले रचेको ।
मनास्लुको हिउँदे शिर, मुस्कुराउँछन् पहाडहरू,
दरौँदी र चेपे बग्छन्, गाउँदै वीरताका सुरहरू।
यहीँबाट जन्मियो त्यो, विशाल नेपालको सपना,
पृथ्वीनारायणको अठोटमा जोडियो देशको संरचना।
गोरखा दरबारको त्यो उचाइ, आज पनि साक्षी छ,
नेपालीको रगतमा, त्यही गोर्खाली तेज बाँकी छ।
मनकामना माईको मन्दिर, डाँडामा सजिएर,
भक्तजनको भिड लाग्छ, आस्था त्यहाँ बिसाएर ।
लिगलिगकोटको त्यो दौड, इतिहासको पानामा,
अझै पनि गुञ्जिरहन्छ, हरेक नेपालीको मुटुमा ।
प्राकृतिक सौन्दर्य र संस्कृतिको खानी हो,
संसारभरि चिनिएको, हाम्रो वीर गोर्खाली हो ।
नेपाल आमाको भालमा, चम्किरहने तारा हो,
हाम्रो प्राण, हाम्रो गौरव, प्रिय जिल्ला गोरखा हो।
कविः सरोज पोख्रेल गाेरखा जिल्लाका वासिन्दा हुन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend