जन आकाश
काठमाडौं । बागलुङका दुई ग्रामीण विद्यालयमा सञ्चालन गरिएको डिजिटल शिक्षा परियोजनाले पठनपाठनमा सकारात्मक परिवर्तन ल्याएको पाइएको छ। नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) र एपीएनआईसी (APNIC) फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको परियोजनाको दीर्घकालीन प्रभाव मूल्यांकन गर्न एपीएनआईसी फाउन्डेसनको प्रतिनिधिमण्डलले शनिबार स्थलगत अवलोकन गरेको हो।
काठेखोला गाउँपालिका–२, भीमापोखरास्थित जनप्रिय आधारभूत विद्यालय र भीमदरबार आधारभूत विद्यालयमा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ परियोजनाअन्तर्गत स्थापना गरिएका डिजिटल पूर्वाधार र तिनको उपयोगबारे टोलीले निरीक्षण गरेको थियो।
सन् २०२४ डिसेम्बर १४ मा सम्पन्न भएको उक्त परियोजनाबाट हाल दुई विद्यालयका करिब १०० विद्यार्थी र १९ शिक्षक प्रत्यक्ष लाभान्वित भइरहेका छन्। परियोजनाअन्तर्गत कम्प्युटर, स्मार्ट सिकाइ उपकरण, भरपर्दो इन्टरनेट सेवा तथा आधुनिक आईसीटी कक्षाकोठा स्थापना गरिएको छ।
विद्यालय परिसरबाहिरसमेत इन्टरनेट सेवा उपलब्ध गराउन आउटडोर वायरलेस एक्सेस पोइन्ट जडान गरिएकाले स्थानीय समुदायले पनि डिजिटल स्रोत तथा अनलाइन सेवाको उपयोग गर्न पाएका छन्।
अवलोकनका क्रममा प्रतिनिधिमण्डलले शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायसँग छलफल गरेको थियो। शिक्षकहरूले डिजिटल उपकरणको प्रयोगले कक्षाकोठा थप अन्तरक्रियात्मक र प्रभावकारी बनेको बताएका छन् भने विद्यार्थीहरूले कम्प्युटर र इन्टरनेटको प्रयोगबाट सिकाइ अझ सहज र रोचक भएको अनुभव सुनाएका छन्।
स्थानीय समुदायले पनि विद्यालयमार्फत गाउँमा डिजिटल पहुँच विस्तार भएको भन्दै परियोजनाको प्रशंसा गरेका छन्।
भ्रमणका क्रममा जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा विद्यालय झोला (स्कुल ब्याग) समेत वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याएको भन्दै एपीएनआईसी फाउन्डेसन र नेपाल इन्टरनेट फाउन्डेसनलाई सम्मान गरेको थियो।
नेपाल इन्टरनेट फाउन्डेसनले परियोजना सम्पन्न भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्यालयहरूले आईसीटी पूर्वाधार प्रभावकारी रूपमा प्रयोग गरिरहेको जनाएको छ। संस्थाका अनुसार भरपर्दो इन्टरनेट, गुणस्तरीय डिजिटल पूर्वाधार र समुदायको सक्रिय सहभागिताले दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय डिजिटल शिक्षामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
फाउन्डेसनले यस्ता सहकार्यले डिजिटल विभाजन न्यूनीकरण, ग्रामीण शिक्षा प्रणाली सुदृढीकरण तथा दुर्गम क्षेत्रका बालबालिकालाई समान शैक्षिक अवसर उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend