logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम


  • जन आकाश
  • मंगलबार, साउन १९ २०८३

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाएको सरोकारवालाहरूले बताएका छन्।



सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुप (सीजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले सीपमूलक शिक्षा, रोजगारी सिर्जना र युवाको क्षमता विकासका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जोनाथन चान्थाले एलजी इलेक्ट्रोनिक्सले सन् १९५८ देखि उपभोक्ताको जीवनलाई सहज, गुणस्तरीय र सुखद बनाउने उद्देश्यका साथ नवीन प्रविधि तथा समाधान विकास गर्दै आएको बताए। ग्राहकको जीवनमा मूल्य सिर्जना गर्नु कम्पनीको मूल दर्शन रहेको उल्लेख गर्दै उनले कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिमार्फत उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउने प्रयास भइरहेको जानकारी दिए।

उनका अनुसार एलजीले गृह मनोरञ्जन, गृह उपकरण, वातानुकूलन तथा ऊर्जा समाधान र विद्युतीय सवारी साधनका कम्पोनेन्ट उत्पादनलगायतका क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ। व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व (सीएसआर)लाई प्राथमिकतामा राख्दै नेपालमा डिजिटल शिक्षा र प्राविधिक सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

विशेषगरी एयर कन्डिसनर तथा रेफ्रिजेरेटर जस्ता उपकरणको जडान र मर्मतसम्बन्धी तालिममार्फत युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। आफ्नो ३४ वर्ष लामो व्यावसायिक अनुभव सुनाउँदै उनले निरन्तर सिकाइ नै सफलता र व्यक्तिगत सन्तुष्टिको आधार भएको उल्लेख गरे।

त्यसैगरी, चौधरी ग्रुप (सीजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एलजी विगत चार दशकदेखि अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहेको बताए। ठूलो ब्रान्डसँग ठूलो सामाजिक जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै उनले पछिल्लो दशकमा एलजी र सीजीले सामाजिक उत्तरदायित्वअन्तर्गत सीप विकासलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

उनले युवालाई बजारको आवश्यकता अनुरूपको प्राविधिक सीप प्रदान गर्न सके रोजगारी सिर्जनासँगै उद्यमशीलता विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सीपमूलक शिक्षाको विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend