logo शुक्रबार, साउन २२ २०८३ | Friday 7th August 2026

आन्दोलनकै बीच चार महिना काम गर्न पाइनँ,गृहमन्त्री सुधन गुरुङ


  • जन आकाश
  • शुक्रबार, साउन २२ २०८३

काठमाडौं । काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।



बिहीबार जेन–जी घर उद्घाटन कार्यक्रममा बोल्दै उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरे ।

‘यो चार महिनामा मैले काम नै गर्न पाएको छैन साँच्चै भन्ने हो भनेदेखि । कहिले के आन्दोलन भएको छ, कहिले के आन्दोलन भएको छ । कहिले यो भएन भनेको छ, कहिले त्यो भएन भनेको छ । यो अवधिमा हरेकचोटि केही न केही त भएको छ । मैले कामै राम्रोसँग गर्न पाएको छैन,’ गृहमन्त्री गुरुङले भने ।

जेन–जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भएपनि परिस्थिति अनुकूल नभएको उनको भनाइ थियो ।यद्यपि जेन–जी शहीदका परिवार र जेन–जी पुस्ताका मागहरु पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए ।

‘जेनजीको सम्बन्धमा गर्नुपर्ने कयौँ योजना र कामहरु छन् जुन मैले बनाउनुपर्नेछ । तर हरेक नागरिक मेरो ढोकामा आएर आँशु झर्दै गर्दा त्यो उहाँहरुको माग सम्बोधन गर्ने कुरा पनि मेरो कर्तव्य त हो नि,’ उनले भने, ‘त्यही गर्नको लागि त जिताएर पठाउनुभएको हो हजुरले हामीलाई । त्यो जिम्मेवारी पनि सम्हाल्नु छ, जेन–जी नेता जेनजी पुस्ताको सुनेन भनेर पनि धिक्कार्लान । सदनमा बोल्दै गर्दाखेरी जहिले पनि म मनको कुरा मात्रै बोल्छु । केही भूमिका बाँध्दिन, मन पनि पर्दैन ।’उनले पछिल्लो समय राजनीति गरिरहेका जेनजी प्रतिनिधिहरुको नियत ठिक नरहेको आशंका पनि गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend