logo सोमबार, साउन २५ २०८३ | Monday 10th August 2026

नेशनल लाइफको ‘रेजिङ द बार’ सम्मेलन सम्पन्न


  • जन आकाश
  • सोमबार, साउन २५ २०८३

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ।



सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती, कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिको प्रयोग तथा डिजिटल मार्केटिङलगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पानसमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले बदलिँदो बजारअनुसार आफूलाई तयार पार्दै व्यवसाय प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

उहाँले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर तालिम तथा प्रशिक्षणलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिले जीवन बीमा क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताउनुभयो। डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन एआईको प्रयोगतर्फ कम्पनी अघि बढिरहेको उहाँको भनाइ थियो।

कम्पनीले मानव संसाधनमा निरन्तर लगानी गर्दै कर्मचारीको वृत्ति विकासमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै अध्यक्ष सिंहले आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास, आपसी समन्वय र संस्थागत प्रतिबद्धताबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी नयाँ यात्रा, नयाँ संकल्प र नयाँ अवसरका साथ अघि बढिरहेको बताउनुभयो। नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको अवसर नभई सोच, प्रतिबद्धता र भविष्यलाई अझ उचाइमा पुर्‍याउने संकल्प गर्ने अवसरसमेत भएको उहाँको भनाइ थियो।

सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

सम्मेलनका क्रममा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुन सक्ने सम्भावना बढ्दै गएकाले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी यस विषयमा विशेष चनाखो र जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यस्तै, कर्मचारीलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विशेष प्रशिक्षण दिनुभयो। उहाँले एआईका विभिन्न टुल्स तथा तिनको प्रयोगबाट बीमा व्यवसायलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रवर्द्धन तथा मार्केटिङ गर्न सकिने विषयमा प्रशिक्षण दिनुभएको थियो।

प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार तथा व्यावसायिक सफलता हासिल गर्ने विषयमा श्रीलंकाबाट आउनुभएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले विभिन्न व्यावहारिक उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो। उहाँले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने रणनीतिबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।

सम्मेलनकै अवसरमा आर्थिक वर्ष २०८२र८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, अधिकतम प्रथम बीमाशुल्क संकलन, अधिकतम सक्रिय अभिकर्ता उत्पादन तथा अधिकतम बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई समेत सम्मान गरिएको थियो।

यसैगरी चेयरपर्सन क्लब योजना र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एकरएक उत्कृष्ट शाखा कार्यालयलाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ। उत्कृष्ट शाखा तथा कर्मचारीलाई कम्पनीकी अध्यक्ष सिंहले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

सम्मेलनका क्रममा कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ गर्ने तथा मनोरञ्जनमार्फत संस्थागत सहकार्य बढाउने उद्देश्यले विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो। विभिन्न खेल विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पुरस्कार प्रदान गर्नुभएको थियो।

चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend