जन आकाश
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० ले आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ।
एक्स्पो नजिकिँदै गएसँगै आयोजकले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा स्टल निर्माणलगायतका कामलाई तीव्रता दिएको छ। विभिन्न अटोमोबाइल ब्रान्डले आफ्ना उत्पादन, प्रविधि तथा नयाँ मोडल प्रदर्शन गर्न छुट्टाछुट्टै स्टल निर्माण गरिरहेका छन्।
एक्स्पो साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ। आयोजकका अनुसार एक्स्पोमा ५२ वटा स्टलमार्फत ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ। चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँगै मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शनीमा राखिनेछन्।
एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। नेपालमा पहिलोपटक सार्वजनिक हुने तथा नेपाली बजारमा प्रवेशको तयारीमा रहेका नयाँ मोडलहरूलाई एक्स्पोमार्फत उपभोक्तामाझ ल्याउने तयारीमा विभिन्न अटोमोबाइल कम्पनी छन्।
एक्स्पोमार्फत उपभोक्ताले नेपाली अटोमोबाइल बजारमा आगामी दिनमा भित्रिने नयाँ मोडल, प्रविधि तथा मोबिलिटीसम्बन्धी विकासबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।
सवारीसाधनको प्रदर्शनीसँगै एक्स्पोमा मोबिलिटी क्षेत्रमा भइरहेको प्रविधिगत विकासबारे जानकारी दिने ‘लर्निङ सेसन’ समेत आयोजना गरिनेछ। विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि, स्मार्ट मोबिलिटी तथा भविष्यको यातायात प्रणालीलगायत विषयमा जानकारीमूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार एक्स्पोलाई नयाँ सवारीसाधन प्रदर्शन गर्ने थलोमा मात्र सीमित नराखी नेपालमा विकसित हुँदै गएको मोबिलिटी इकोसिस्टम, प्रविधि र भविष्यको यातायात प्रणालीबारे जानकारी तथा अनुभव आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्ड, विद्युतीय तथा दुईपांग्रे सवारीसाधन, व्यावसायिक सवारीसाधन र मोबिलिटीसँग सम्बन्धित प्रविधि तथा सेवाहरूको सहभागिता रहनेछ। एक्स्पोमा १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend