जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन्।
आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ। बैठकमा कोशी प्रदेशका उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन सहभागी भएका छन्।
कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर भने बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
आइतबारदेखि सुरु भएको बैठकमा सोमबारबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन्। बैठकमा पार्टीसँग सम्बन्धित विभिन्न विषयसहित आठवटा एजेण्डा तय गरिएको छ।
बैठकका प्रमुख एजेण्डामा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठनलगायत छन्। त्यस्तै, प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका विषयमा उपसमिति गठन गर्ने तथा कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि एजेण्डामा समेटिएका छन्।
यसैगरी सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूका विधानलगायत विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकमा पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल हुनेछ। साथै, सरकारको १०० दिनपछिका गतिविधि, प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिका, प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend