जन आकाश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न उठाएकै कारण आफूविरुद्ध साइबर बुलिङ र चरित्र हत्या गरिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै शाहीले आफूलाई मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको दाबी गरे। आफ्नो नाम जोडेर अश्लील भिडियो प्रसार गरिएको भन्दै उनले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे।
शाहीले कर्णालीका जनताको समस्या र पीडाबारे सरकारसँग प्रश्न उठाएपछि आफूविरुद्ध व्यक्तिगत आक्रमण र चरित्र हत्या सुरु भएको दाबी गरे।
‘कर्णालीका मानिस मर्दा, कर्णालीका जनताले पीडा भोग्दा यो मेरो सरकार हो कि तेरो सरकार हो भनेर म हेर्दिनँ। म कर्णालीका पीडित जनताको आवाज उठाउँछु,’ उनले भने।
सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र गलत सूचना फैलाउने प्रवृत्तिबाट कलाकार, खेलाडी, पत्रकार तथा व्यवसायीसमेत पीडित भइरहेको उनले बताए। यस्ता गतिविधिमा संलग्नलाई सरकारले अनुसन्धान गरी कारबाही गर्नुपर्ने उनको माग थियो।
शाहीले प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारलाई प्रश्न गर्ने र खबरदारी गर्ने भएको भन्दै प्रतिपक्षले उठाउने प्रश्नलाई सरकारको काममा अवरोधका रूपमा नलिन आग्रह गरे।
‘प्रतिपक्ष हामी विरोधी होइन, तपाईंको सहयात्री हो,’ उनले भने।आफू सरकार ढाल्ने खेलमा नरहेको स्पष्ट पार्दै शाहीले वर्तमान संसदीय अंकगणितमा प्रतिपक्षले सरकार ढालेर नयाँ सरकार गठन गर्न सक्ने अवस्था नरहेको बताए।
बरु जनताले निर्वाचित गरेको सरकारले पाँच वर्षसम्म स्थिर रूपमा काम गर्न पाउनुपर्ने र प्रतिपक्षको आवाजलाई पनि सरकारले सुन्नुपर्ने आफ्नो चाहना रहेको उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend