जन आकाश
काठमाडौं । अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। अर्थमन्त्रीले उद्योगी,व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने बताउँदै भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाललगायत २० ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए।
अर्थमन्त्रीले ठूला उद्योगी–व्यवसायी केवल कम्पनीका प्रतिनिधि नभई ठूलो करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका साझेदार भएको बताए।
‘नेपालको अर्थतन्त्रको रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाले मात्र गर्न सक्दैन। यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ,’ उनले भने।
पछिल्ला दिनमा उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग छलफल गरेको जानकारी दिँदै अर्थमन्त्रीले ती छलफलबाट सरकार र निजी क्षेत्रबीच सहकार्य अझ बलियो बनाउनुपर्ने निष्कर्षमा पुगेको बताए।
‘आज म यहाँ सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको हुँ,’ उनले भने।
कर संकलनभन्दा उत्पादन र पुनःलगानीमा जोड
सरकारको प्राथमिकता अब कर संकलन बढाउनु मात्र नभएको अर्थमन्त्रीले बताए। उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
‘उद्योगले नाफा कमाउँछ। त्यही नाफा पुनःलगानी हुन्छ। पुनःलगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ र आम्दानीले बजार विस्तार गर्छ। अन्ततः त्यसबाट राज्यको राजस्व पनि बढ्छ,’ उनले भने।
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध शून्य–योगको नभएको भन्दै उनले दुवै पक्षको सफलता एकअर्कासँग जोडिएको बताए।
नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ छ। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको महसुस गर्नुपर्ने उनले बताए।
‘राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास उद्यमीले गर्न सक्नुपर्छ। त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन, उद्योग विस्तार हुँदैन र आर्थिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने।
‘ठूलो लगानी गर्नुहोस्, सरकार साथमा उभिन्छ’
अर्थमन्त्रीले ठूला कम्पनीलाई नेपालमा थप लगानी गर्न आग्रह गर्दै भएका उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन जोड दिए।
‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ,’ उनले भने।
बैठकमा सरकारले सुरु गरेका आर्थिक तथा नीतिगत सुधार व्यवहारमा कत्तिको प्रभावकारी देखिएका छन् भन्नेबारे उद्योगी–व्यवसायीको धारणा मागिएको थियो। व्यवसाय विस्तारका मुख्य अवरोध, कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामा गर्नुपर्ने सुधारबारे पनि सुझाव मागिएको थियो।
त्यस्तै, आगामी ६ महिनाभित्र सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे समेत अर्थमन्त्रीले ठूला करदातासँग स्पष्ट धारणा मागेका थिए।आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,’ उनले भने।
बैठकमा उठेका विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने र त्यसको अर्थ मन्त्रालयले ‘रेस्पोन्स डेस्क’मार्फत निरन्तर अनुगमन गर्ने उनले बताए। यो संवाद एकपटकको कार्यक्रम नभई समस्या समाधान नभएसम्म निरन्तर अघि बढाइने उनको भनाइ छ।
करदातालाई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति
अर्थमन्त्रीले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति सरकारले लिएको बताए।नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व हो,’ उनले भने।
उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।
बैठकमा सूर्य नेपाल प्रालि, एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राइप्स प्रालि, गोर्खा ब्रुअरी प्रालि, हिमालय एयरलाइन्स प्रालि, होङ्शी शिवम् सिमेन्ट प्रालि, डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल प्रालि, बोटलर्स नेपाल ९तराई० लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, एसियन पेन्ट्स नेपाल प्रालि, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड, गोर्खा लाहारी प्रालि, ह्वासिन सिमेन्ट नारायणी प्रालि, न्यू होप एग्रो बिजनेस नेपाल प्रालि, नेपाल वेलहोप एग्रि–टेक प्रालि, वरुण बेभरेज नेपाल प्रालि, टर्किस एयरलाइन्स इन्कर्पोरेशन प्रालि, भोटेकोशी पावर कम्पनी प्रालि र बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालिका प्रतिनिधि सहभागी थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend