जन आकाश
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। ६ दिनसम्म सञ्चालन हुने एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनका मोडलहरूको प्रदर्शनीसँगै सुरु भएको हो।
एक्स्पोमा ५५ वटा ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिँदै छन्। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा सवारीसाधनसँगै अटोमोबाइल प्रविधि, विद्युतीय सवारी, ब्याट्री तथा मोबिलिटीसम्बन्धी विभिन्न सामग्री र प्रविधिको प्रदर्शन गरिएको छ।
कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले उत्पादक तथा आयातकर्ताहरूको सहकार्यमा एक वर्षअघि मात्रै संस्था स्थापना भएको बताइन्। स्थापना हुँदा २१ सदस्य रहेको नाइमा अहिले ३६ सदस्य पुगेको उनले जानकारी दिइन्।
अध्यक्ष वैद्यले नेपालको यातायात क्षेत्र क्रमशः विद्युतीय सवारीतर्फ अघि बढिरहेको बताउँदै यसले हरित अर्थतन्त्र निर्माणमा समेत योगदान पुर्याइरहेको बताइन्। उनका अनुसार मोबिलिटी भन्नाले सवारीसाधन मात्र नभई मानिस तथा वस्तुको आवागमन र विभिन्न क्षेत्रमा पहुँचसँग सम्बन्धित व्यापक अवधारणा हो।
सरकारले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्दा व्यवसायी तथा सरोकारवालासँग आवश्यक छलफल र परामर्श गर्नुपर्नेमा उनले जोड दिइन्। नेपालमा अटो कम्पोनेन्ट उत्पादन गर्ने उद्योग स्थापना गर्न सरकारले प्रोत्साहन गरे स्वदेशमै एसेम्बल प्लान्टहरू सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सडक सुरक्षा र सवारी व्यवस्थापनलाई महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताए। सडकमा गुड्ने सवारीसाधन जति सुरक्षित हुन्छन्, त्यति नै समाजका लागि सकारात्मक हुने उनले बताए।
नेपाल प्रहरीले ट्राफिक सचेतना तथा सवारी व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले सडक दुर्घटनामा चालकको लापरबाहीलाई मात्र दोष दिन नहुने बताए। दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको डिजाइन तथा सडकको इन्जिनियरिङ पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ।
महानिरीक्षक कार्कीका अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटनामा करिब २ हजार ७ सय जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५ सय जना घाइते भएका छन्। ती दुर्घटनामध्ये ५९ प्रतिशत मोटरसाइकलसँग सम्बन्धित रहेको उनले जानकारी दिए।
पछिल्ला वर्षहरूमा नेपालमा विभिन्न ब्रान्डका सवारीसाधन भित्रिए पनि बिक्रीपछिको सेवा प्रभावकारी नभएको गुनासो बढिरहेको उनले बताए। सवारीसाधन प्रयोग गर्ने शिक्षित व्यक्तिहरूले समेत जथाभावी पार्किङ गर्दा काठमाडौंका सडक तथा सार्वजनिक स्थान अस्तव्यस्त हुने गरेको भन्दै उनले जिम्मेवार सवारी संस्कृतिको आवश्यकता औंल्याए।
एक्स्पो अवधिभर विभिन्न विषयमा ‘अटो संवाद’ समेत आयोजना गरिनेछ। संवादमा अटोमोबाइल क्षेत्रमा लगानी, विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन, अटो प्रविधि तथा नेपालको मोबिलिटी क्षेत्रका सम्भावना र चुनौतीबारे छलफल हुने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend