जन आकाश
काठमाडौं । कृषि विकास बैंक लिमिटेड र टोखा, काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच दुवै संस्थाका कर्मचारी, चिकित्सक तथा तिनका परिवारजनलाई स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशिल हुंमागाईं र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट मुख्य सञ्चालन अधिकृत (सीओओ) कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल तथा व्यवसाय अधिकृत मणिराज ढुंगानालगायतको उपस्थिति थियो । त्यस्तै, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा र अधिकृत माधव शर्माको समेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र उनीहरूका आश्रित परिवारका सदस्यलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार, विभिन्न प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, बेड चार्ज, शल्यक्रिया तथा वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउनेछ ।
यसका साथै बैंकका कर्मचारी तथा परिवारजनका लागि टेलि–कन्सल्टेसन, आपतकालीन उद्धार सेवा तथा स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता र सहुलियत प्रदान गरिने जनाइएको छ । यसबाट बैंकका कर्मचारी, पूर्व कर्मचारी तथा उनीहरूका आश्रित परिवारजनले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ ।
यस्तै, सम्झौताअन्तर्गत कृषि विकास बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा विशेष छुट तथा सुविधा प्रदान गर्नेछ ।
अस्पतालका कर्मचारीले कृषि विकास बैंकका देशभरका शाखाबाट डिजिटल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, लकर सुविधा तथा घर, सवारी र शिक्षा कर्जालगायत विभिन्न कर्जामा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा समेत विशेष सहुलियत उपलब्ध हुने बैंकले जनाएको छ ।
दुवै संस्थाबीच भएको सहकार्यले कर्मचारी कल्याण, सेवा प्रवाह तथा ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य र बैंकिङ क्षेत्रका दुई प्रतिष्ठित संस्थाबीचको सहकार्यले सेवा आदानप्रदान, संस्थागत सम्बन्ध विस्तार तथा दीर्घकालीन व्यावसायिक साझेदारीका लागि समेत आधार तयार गर्ने विश्वास गरिएको छ ।
सम्झौताअनुसारका सुविधा प्राप्त गर्न दुवै संस्थाका कर्मचारीले आफ्नो संस्थाको आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend