जन आकाश
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भव्य रूपमा सुरु भएको छ। मंगलबार नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको किनबेच गर्ने थलो मात्र नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्। उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता बढाएको भन्दै निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक कार्कीले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई व्यवसायीले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने बताए। उनले ब्रान्ड तथा व्यवसायीलाई बिक्रीपछिको सेवामा विशेष ध्यान दिन आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्वको स्रोतका रूपमा मात्रै हेरेको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तु नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने धारणा राख्दै नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर रहेको बताए। विद्युतीय सवारीसाधनका लागि समेत स्थिर नीति आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई उल्लेख्य राजस्व प्रदान गर्ने क्षेत्र भएकाले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उनले उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र यातायातमा मात्र सीमित नरहेको भन्दै यसलाई देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा लिनुपर्ने बताए। उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान छ। बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता क्षेत्रसँग मोबिलिटी क्षेत्र अन्तरसम्बन्धित रहेकाले यसलाई आर्थिक विकासको इन्जिनका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing Fuel for Economic Growth’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए। ‘लर्निङ सेसन’ मा पनि तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न लर्निङ सेसन, पोलिसी डायलग र उद्योग–अन्तरक्रियालगायत कार्यक्रम सञ्चालन हुनेछन्। ग्रान्डी इन्टरनेसनल हस्पिटलले ‘Basic Life Support and Immediate Care after Road Traffic Accidents’ विषयमा जानकारीमूलक विशेष प्रस्तुति पनि दिएको थियो।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो दोस्रो संस्करणको एक्स्पो छ दिनसम्म, साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराएका छन्। ग्लोबल आइएमई बैंक सह–प्रायोजक तथा रेडबुल ‘पावर्ड बाई’ पार्टनर रहेको एक्स्पोमा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर रहेका छन्।
त्यसैगरी बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन्। अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनर, भत्सल इम्पेक्स (हिकभिजन) सर्भिलियन्स पार्टनर र हिट्को फायर एन्ड सेफ्टी पार्टनर रहेका छन्।
आईएमई खल्ती टिकटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वल्र्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा रहेका छन्।
एक्स्पोमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार, वित्तीय सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न समाधानबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend