जन आकाश
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार बनेको बालेन सरकारप्रति युवाको आशा र अपेक्षा बढे पनि सरकारले प्रतिबद्धता पूरा गर्न नसक्दा युवाहरू पुनः निराशातर्फ फर्किएको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन्।
उनले देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहलाई युवामा बढ्दो निराशाको ज्वलन्त घटनाका रूपमा उल्लेख गरेका छन्।
आङ्देम्बेले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’
उनले निर्वाचनअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिका, क्यानडा र युरोपका विभिन्न देशमा पुगेर सरकार गठन भएको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने घोषणा गरेको स्मरण गराएका छन्।
तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई समेत स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न भएको आङ्देम्बेको भनाइ छ।
‘चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्,’ उनले सन्देशमा भनेका छन्।
आङ्देम्बेले युवालाई केवल मतदान गर्ने जमातका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई देशको विकासमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति ल्याउनुपर्ने उनको धारणा छ।
उनले युवाका अपेक्षा सम्बोधन गर्न रोजगारीका अवसर सिर्जना, सुशासनको प्रत्याभूति र विदेशिएका युवालाई स्वदेश फर्काएर उनीहरूको सीप तथा पुँजी परिचालन गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend