जन आकाश
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मार्फत दुई नयाँ विद्युतीय सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले एक्स्पोको अवसर पारेर नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको हो। नयाँ पञ्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँ मा पञ्च ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्स्पोमा यी दुवै मोडल बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ।
गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिमा आधारित विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए। पञ्च ईभी र टियागो ईभीको सार्वजनिकले कम्पनीको विद्युतीय सवारीसाधनप्रतिको प्रतिबद्धता थप स्पष्ट गरेको उनको भनाइ छ।
उनका अनुसार दुवै मोडल फरक–फरक ग्राहकको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको हो।
कम्पनीका अनुसार नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्ट.ईभी’ प्लेटफर्ममा आधारित छ। यसमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्।
नेपालमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
पञ्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायत सुविधा उपलब्ध छन्।
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा विभिन्न रङ विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ।
टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग लगायतका सुरक्षा तथा प्रविधिमैत्री सुविधा समावेश छन्।
सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा पनि जोड दिँदै आएको जनाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले ईभी प्रयोगकर्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले चार्जिङ तथा सर्भिस नेटवर्क विस्तार भइरहेको बताए।
कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।
नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ मोडलका विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्ने कम्पनीले अपेक्षा गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend