logo शनिबार, साउन ३० २०८३ | Saturday 15th August 2026

प्रतिनिधिसभा चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे ओली


  • जन आकाश
  • शनिबार, साउन ३० २०८३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्।



शनिबार झापाको चन्द्रगढी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने ओलीले कुनै प्रतिक्रिया दिएनन्।

ओली राजनीतिक तथा सांगठनिक कार्यक्रमका लागि झापा पुगेका हुन्। यसपटक झापामा उनको औपचारिक कार्यक्रम सीमित रहे पनि इलाममा भने विभिन्न भेटघाट तथा कार्यक्रम तय भएका छन्।

चन्द्रगढी विमानस्थलमा स्वागत ग्रहण गरेपछि ओली सिधै इलामको फिक्कलतर्फ लागेका छन्। प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार उनले शनिबार फिक्कलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

महासंघको बैठकलाई सम्बोधन गरेपछि ओली शनिबार साँझ इलाम बजार पुग्ने र जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए।

इलामका कार्यक्रम तथा भेटघाट सकेर ओली आइतबार बिहानै झापा फर्किनेछन्। बिर्तामोडमा आइतबारदेखि सुरु हुने एमाले झापा जिल्ला कमिटीको पार्टी जागरण अभियान ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अभियान उद्घाटन समारोहलाई सम्बोधन गरेपछि अध्यक्ष ओली आइतबार अपराह्न ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend