जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठकमा पार्टीका केही पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव पेश हुने बताइएको छ।
रास्वपाका एक नेताका अनुसार सभापति लामिछानेले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी बैठकबाट अनुमोदन गराउने तयारी गरेका छन्। बैठक बस्नेबारे केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।
यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि साउन १३ गते बसेको पहिलो बैठकले सभापति लामिछानेको प्रस्तावमा प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय सर्वसम्मत रूपमा गरेको थियो।
रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यसैगरी २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन हुन बाँकी छन्।
साउन १३ गते बसेको बैठकले यसअघि पदाधिकारीमध्ये पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको थियो। आगामी बैठकबाट बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend