जन आकाश
काठमाडौं । नेपाल आयल निगमले भदौ १ गतेदेखि एलपी ग्यास नियमित वितरण प्रणालीमार्फत बिक्री गर्ने भएको छ। निगमले उद्योगले नियुक्त गरेका विक्रेता तथा वितरकमार्फत ग्यास बिक्री हुने जनाएको छ।
उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले निगमले यसअघि विभिन्न स्थानबाट आफ्नै सक्रियतामा ग्यास बिक्री गर्दै आएको थियो। तर, उद्योगीहरूले निगमको प्रत्यक्ष बिक्रीले समस्या समाधान हुनुको सट्टा झन् जटिल बनाएको गुनासो गरेका थिए। निगमले आइतबार सूचना जारी गर्दै भदौ १ गतेदेखि ग्यास बिक्री नियमित प्रक्रियामार्फत नै हुने जनाएको हो।
सूचनाअनुसार प्रत्येक ग्यास उद्योगले दैनिक रूपमा ग्यास बिक्री गर्ने विक्रेता तथा वितरकको विवरण निगमलाई उपलब्ध गराउनुपर्नेछ। विवरणमा विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा बिक्री गरिने सिलिन्डरको संख्या खुलाउनुपर्नेछ। यस्तो विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, विक्रेता तथा वितरकले पनि दैनिक बिक्रीको विवरण तयार गर्नुपर्नेछ। उक्त विवरणमा ग्यास खरिद गर्ने उपभोक्ताको नाम, सम्पर्क नम्बर तथा बिक्री गरिएको ग्यासको परिमाण उल्लेख गर्नुपर्नेछ।
विक्रेता तथा वितरकले तयार पारेको विवरण सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्नेछ भने उद्योगले सोही दिन उक्त विवरण निगममा पठाउनुपर्नेछ।निगमले अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई ग्यास बिक्रीमा प्राथमिकता दिन विक्रेता तथा वितरकलाई आग्रह गरेको छ।
ग्यासको ढुवानी तथा वितरणका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निगमले गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ। साथै, ग्यास बिक्री वितरणको अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आग्रह गरिएको निगमले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend