जन आकाश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न र दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले वार्षिक डेढ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका नाममा विभिन्न किसिमका ठगीमा पर्ने गरेको दाबी गरेका छन्।
शाहीले सत्ता र राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। उनले हिजो सत्ताधारी दलमा रहेर जनतालाई ठग्नेहरू सत्ता परिवर्तनसँगै पार्टी परिवर्तन गरेर पुनः सत्ताको वरिपरि देखिने गरेको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘ठगी गर्ने व्यक्ति जुनसुकै पार्टीको होस्, उसको राजनीतिक पहुँच र पद हेरेर होइन, अपराध हेरेर कानुनी कारबाही हुनुपर्छ।’
वैदेशिक रोजगारीका नाममा हुने ठगीमा संलग्न जोसुकै भए पनि राजनीतिक पहुँच र पदको प्रभावमा नपरी कानुनअनुसार कारबाही गर्नुपर्ने शाहीको माग छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend