जन आकाश
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नौ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक १५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म गर्ने निष्कर्षसहित सम्पन्न भएको छ।
केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति गगन थापाले महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारे। उनले पार्टीभित्रका सबै पक्ष र विचार समूहलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताए।
यद्यपि, वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर हुने भएको छ। सभापति थापाका अनुसार मंगलबारदेखि नै अधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ।
यसैक्रममा प्रेमबहादुर खड्का संयोजक रहेको केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो २ बजे सानेपामा निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न खटाइएका निर्वाचन अधिकृतलाई निर्वाचन प्रक्रिया, कानुनी व्यवस्था तथा जिम्मेवारीबारे प्रशिक्षण दिन लागिएको हो। कांग्रेसले कानुनी पृष्ठभूमि भएका व्यक्तिलाई निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएको छ।
सभापति थापाले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनले क्रियाशील सदस्यता छानबिनलगायत विभिन्न समितिमा विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई समेत समेटेर अघि बढ्न सकिने बताएका छन्।
पार्टीभित्रको एकता कायम गर्न आफूले निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग पनि पटक–पटक छलफल भइरहेको बताए। उनीहरूले पनि पार्टी एकताको पक्षमा भूमिका खेलिरहेको उनको भनाइ थियो।
थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिने जानकारी दिए। ‘नेताहरूसँग अझै केही दिन म संवादको प्रयास गर्छु,’ उनले केन्द्रीय समिति बैठकमा भने, ‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुन्छ।’
यसैबीच, संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गरेको भेलामा आठ जना जिल्ला सभापति तथा केही क्षेत्रीय सभापति सहभागी भएको विषयमा पनि बैठकमा छलफल भएको थियो। थापाले कांग्रेसमा विभिन्न पक्षका भेला हुनु नयाँ विषय नभएको भन्दै आफूले पनि विगतमा यस्ता भेला गर्दै आएको बताए।
तर पार्टीले तोकेको कार्यतालिकाअनुसार जिल्ला वा क्षेत्रीय अधिवेशन गराउन असहयोग गर्ने पदाधिकारी तथा नेतामाथि भने जिम्मेवारी परिवर्तन गर्न सकिने उनले चेतावनी दिए।
‘भेलाहरूमा सहभागी हुन पाइन्छ, कांग्रेसमा भेला हुनु परम्पराजस्तै हो, मैले पनि कतिपय भेला गरेको थिएँ। तर पार्टीको निर्णयअनुसार तोकिएको कार्यतालिका कार्यान्वयन गर्दिनँ, अधिवेशन गराउन सक्दिनँ भनेर कोही साथीले भन्नुहुन्छ भने त्यहाँ अर्को साथीलाई जिम्मेवारी दिइन्छ, अधिवेशन गराइन्छ,’ थापाले भने।
यसअघि क्रियाशील सदस्यता अद्यावधिकका क्रममा समेत असहयोग गर्ने केही वडाध्यक्ष तथा क्षेत्रीय सभापतिको जिम्मेवारी कार्यसमितिका अन्य सदस्यलाई दिएर प्रक्रिया अघि बढाइएको उनले स्मरण गराए।
नौ दिन लामो केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउने र पार्टीभित्रको आन्तरिक विवाद तथा असन्तुष्टिलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध रूपमा महाधिवेशनमा जाने सन्देश दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend