जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वउपसभामुख इन्दिरा रानामगरले सामाजिक सञ्जालमा आफूविरुद्ध लगाइएका आरोप र गरिएको टिप्पणीले गहिरो पीडा दिएको बताएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै रानामगरले आफूलाई सामाजिक सञ्जालमा ‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ भन्दै टिप्पणी गरिएको गुनासो गरिन्।
उनले आफूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिइन्। प्रमाणबिना कसैलाई झूटा आरोप लगाउन नहुने उनको भनाइ थियो।
‘प्रमाणित गरेर देखाउनुहोस्। नभए यसरी मान्छेलाई झूटो आरोप लगाउन पाइँदैन,’ उनले भनिन्, ‘यो सभालाई म निरीह देखिराखेको छु। मलाई कति पीडा भएको छ, मलाई नै थाहा छ।’
रानामगरले आफूविरुद्धको आरोपमा विगतमा रास्वपा सभापति रवि लामिछानेले समेत प्रतिरक्षा गरेको स्मरण गराइन्। पछिल्लो समय आदिवासी महिलाहरूबाटै आफूविरुद्ध त्यस्ता टिप्पणी आउँदा थप दुःख लागेको उनले बताइन्।
‘आज गरिमामय सदनमा नियमापत्ति गर्दा हाम्रा महिला साथीहरूले सामाजिक सञ्जालमा ‘वेश्या र चाइल्ड ट्राफिकर’ भनेर लेखेका छन्। मलाई दुःख लागेको छ,’ उनले भनिन्।
आफूले चाहेको भए त्यस्ता आरोप लगाउने हजारौँलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्ने दाबी गर्दै रानामगरले त्यसो नगर्ने बताइन्। राज्यको स्रोतसमेत व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने आफ्नो धारणा रहेको उनले उल्लेख गरिन्।
यसै क्रममा रानामगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा ‘वेश्यावृत्ति’ र ‘वेश्यागमन’ जस्ता शब्द धेरै ठाउँमा प्रयोग गरिएको भन्दै त्यसलाई हटाउन आग्रह गरिन्।
‘यो विधेयक लेख्ने पनि पुरुष नै हो कि जस्तो लाग्यो। हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द आएको छ। त्यो हटाउन आग्रह गर्दछु,’ उनले भनिन्।
रानामगरले श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङप्रति आफू सम्मान गर्ने धारणा राख्दै आफू ढुंगा बोक्ने काममा समेत सहभागी भएको बताइन्। साथै उनले आफ्नै पार्टीका कार्यकर्तालाई समेत सामाजिक सञ्जालमा संयमित भएर अभिव्यक्ति दिन सम्झाउन आग्रह गरिन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend