जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भन्ने आलोचनाप्रति कडा टिप्पणी गर्दै असन्तुष्ट पक्षलाई महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न चुनौती दिएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले आफ्नो अनुहारका कारण कांग्रेसले कम मत पाएको निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई पराजित गरी पार्टीको नेतृत्व सम्हाल्न आग्रह गरे।
उनले नेतृत्व परिवर्तन लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्न आह्वान गरे।
‘मेरो अनुहारका कारण भोट नआएको र मेरो ठाउँमा अरू कसैको अनुहार भएको भए धेरै भोट आउँथ्यो भन्ने कुरा पनि उठेको रहेछ। होला पनि। त्यसो हो भने यही विषय अधिवेशनमा लिएर गए हुन्छ,’ थापाले भने, ‘महाधिवेशनमा अर्को साथीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्नुहुन्छ र मलाई हराएर पार्टीको नेतृत्व सम्हाल्न सक्नुहुन्छ।’
सभापति थापाले महाधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउन आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे। सबै पक्षको सहभागिता र समान अवसर सुनिश्चित हुने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
‘त्यसका लागि अधिवेशनमा सबैको सहभागिता, निष्पक्षता र समान अवसर सुनिश्चित हुने वातावरण बनाउनुपर्छ। के–कस्ता सर्त र प्रक्रियाले सबैलाई अधिवेशन निष्पक्ष र न्यायपूर्ण भएको महसुस हुन्छ, त्यसका लागि हामी छलफल गर्न र आवश्यक व्यवस्था गर्न तयार छौँ,’ उनले भने।
थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै नेतृत्वको विषयलाई पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट टुंगो लगाउन आफू सधैँ सकारात्मक रहेको बताए।
उनले कांग्रेसको महाधिवेशन सबैको सहभागिता, निष्पक्षता र लोकतान्त्रिक प्रतिस्पर्धाका आधारमा सम्पन्न हुनुपर्नेमा जोड दिए
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend