logo मंगलबार, भाद्र २ २०८३ | Tuesday 18th August 2026

रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’, स्थानीय चुनावका उम्मेदवार छनोटमा चार चरणको मापदण्ड


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ। सोमबार चस्मतिस्थित पार्टीको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा क्यान्डिडेट क्लब घोषणा गरिएको हो।



रास्वपाले स्थानीय तहमा मेयर, उपमेयर, वडाध्यक्ष वा वडा सदस्य पदमा उम्मेदवार बन्न चाहने सबैले अनिवार्य रूपमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

पार्टीले सार्वजनिक गरेको उम्मेदवार छनोटसम्बन्धी रूपरेखाअनुसार क्यान्डिडेट क्लबमा आवेदन दिने व्यक्तिको व्यक्तिगत पृष्ठभूमि, योग्यता र विज्ञताबारे विवरण संकलन तथा परीक्षण गरिनेछ। उम्मेदवार बन्न चाहने व्यक्ति कानुनबमोजिम योग्य, रास्वपाको साधारण सदस्य तथा पार्टीको विचार, सिद्धान्त र नीतिलाई समर्थन गर्ने हुनुपर्नेछ।

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि पालिका क्यान्डिडेट क्लबवडा क्यान्डिडेट क्लब गरी दुई प्रकारको व्यवस्था गरेको छ। आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभर पालिका र वडामा गरी ३५ हजार २२१ पदका लागि उम्मेदवार छनोट गर्नुपर्नेछ।

चार चरणबाट उम्मेदवार छनोट

रास्वपाले क्यान्डिडेट क्लबमा आवेदन दिएका व्यक्तिलाई मुख्यतः चार चरणबाट मूल्यांकन गर्ने व्यवस्था गरेको छ।

१. लिडरसिप एकेडेमी – २५ प्रतिशत

आवेदन स्वीकृत भएका आकांक्षीले रास्वपाको ‘लिडरसिप एकेडेमी’मा सहभागी हुनुपर्नेछ। एकेडेमीबाट प्राप्त ज्ञानका आधारमा परीक्षा लिइनेछ र त्यसको अंकलाई उम्मेदवार छनोटमा २५ प्रतिशत भार दिइनेछ। एकेडेमीको परीक्षामा असफल हुने व्यक्ति उम्मेदवार छनोट प्रक्रियाबाट बाहिरिनेछन्।

२. राजनीतिक निकटता र जनसम्बन्ध – २५ प्रतिशत

लिडरसिप एकेडेमीमा सफल भएका आकांक्षीको ‘पोलिटिकल प्रोक्सिमिटी’ अर्थात् राजनीतिक तथा सामाजिक प्रभावको मूल्यांकन गरिनेछ। यसमा पार्टीसँगको सांगठनिक आबद्धता, निर्वाचन जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक लोकप्रियता, आचरण तथा निष्पक्ष सामाजिक परीक्षणलाई आधार बनाइनेछ।

३. समावेशी प्रतिनिधित्व – १० प्रतिशत

संविधानको समानुपातिक तथा समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै १० प्रतिशत भारांक छुट्याइएको छ। तर यसअघि नै सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख वा उपप्रमुख, मन्त्री वा राज्यमन्त्रीजस्ता जिम्मेवारी सम्हालिसकेका तथा समानुपातिक वा आरक्षण कोटा उपभोग गरिसकेका व्यक्तिले यो अंक पाउने छैनन्।

४. पार्टीको आन्तरिक मतदान – ४० प्रतिशत

उम्मेदवार छनोटमा सबैभन्दा बढी ४० प्रतिशत भार पार्टीको आन्तरिक निर्वाचनलाई दिइएको छ। अर्थात् पार्टी संरचनाभित्रका सदस्यले मतदान गरेर उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको छ।

आन्तरिक मतदानमा तीन प्रकारका मतदाता समूह रहनेछन्। सम्बन्धित निर्वाचन क्षेत्रका साधारण सदस्यलाई क्रियाशील मतदाता मण्डल, वडा तथा पालिका कमिटी, जिल्ला, प्रदेश कमिटी र केन्द्रीय विभागका सदस्यलाई मध्यवर्ती सांगठनिक मतदाता मण्डल तथा सम्बन्धित क्षेत्रमा मतदाता रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र संघीय सांसदलाई विशिष्ट मतदाता मण्डलमा राखिएको छ।

उम्मेदवारका लागि स्वघोषणा अनिवार्य

क्यान्डिडेट क्लबमा आवेदन दिँदा आकांक्षीले केही विषयमा स्वघोषणासमेत गर्नुपर्नेछ। घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बुलिङमा संलग्न नभएको, आफ्नो वैवाहिक अवस्थाको कानुनी स्पष्टता रहेको तथा आफूविरुद्ध अदालतमा कुनै मुद्दा चलेको वा नचलेको विषय खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

चलखेल र गुटबन्दीमा कडाइ

उम्मेदवार छनोट प्रक्रियामा आर्थिक लेनदेन तथा चलखेललाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको रास्वपाले जनाएको छ। आन्तरिक मतदान वा मूल्यांकनमा धाँधली गर्ने, गुटबन्दी गर्ने, दुष्प्रचार तथा चरित्र हत्या गर्ने कार्यलाई गम्भीर अनुशासनहीनता मान्दै कारबाहीको व्यवस्था गरिएको छ।

उम्मेदवार छनोटसम्बन्धी रूपरेखा कार्यान्वयन गर्न केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिनेछ।

यद्यपि, कुनै असाधारण परिस्थिति सिर्जना भएमा नियमित प्रक्रियाभन्दा बाहिरबाट पनि उम्मेदवार छनोट गर्न सकिने व्यवस्था राखिएको छ। त्यसका लागि पार्टीको केन्द्रीय समितिको दुईतिहाइ बहुमतबाट निर्णय पारित हुनुपर्नेछ।

रास्वपाले क्यान्डिडेट क्लबमार्फत स्थानीय तहको उम्मेदवार छनोटलाई पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता तथा जनसमर्थनमा आधारित बनाउने उद्देश्य राखेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend