जन आकाश
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सामान्य बिरामी भएका मन्त्रीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लाखौँ रुपैयाँ खर्च गर्ने सरकारले सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा र राहतसमेत उपलब्ध गराउन नसकेको भन्दै आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले जनताले सिटामोलसमेत नपाइरहेको अवस्थामा मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गरिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइन्।
‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ उनले भनिन्, ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’
मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख रुपैयाँ खर्च गर्न सक्ने सरकारले विपन्न नागरिकका लागि ३ लाख रुपैयाँ खर्च गरेर राहत दिन नसकेको उनको आरोप थियो।
थापाले बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भइरहेका नागरिकलाई सरकारले एउटा सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको बताइन्। उनले सरकारको ‘सुशासन’ र समानताको दाबीमाथि समेत प्रश्न उठाइन्।
‘यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्, मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ,’ थापाले भनिन्, ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने, तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने, के यही हो समानता राज्य? के यही हो जनताको सरकार?’
सरकारले एक्सप्रेसवे निर्माणको कुरा गरिरहे पनि कर्णालीका दुर्गम क्षेत्रमा आवश्यक औषधिसमेत पुर्याउन नसकेको उनको आरोप थियो।
थापाले विकासका ठूला आयोजना र पूर्वाधार निर्माणसँगै राज्यले दुर्गम तथा विपन्न नागरिकको स्वास्थ्य, खाद्य सुरक्षा र आधारभूत आवश्यकतालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend