जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई संसद् बैठकमा थप जवाफदेही बनाउन गतिविधि निगरानी गर्ने गरी गुगल फर्म तयार गरेको छ।
रास्वपाकी सचेतक क्रान्तिशिखा धितालका अनुसार सांसदहरूको संसद् उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन गुगल फर्म तयार गरिएको हो। अब सांसदहरू संसद् बैठकमा अनुपस्थित भएमा अनिवार्य रूपमा उक्त फर्म भर्नुपर्नेछ। अनुपस्थित हुनुको कारण खुलाउनुका साथै आवश्यक प्रमाणसमेत फर्ममा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्धारित समयभन्दा ३० मिनेटभन्दा ढिलो बैठकमा उपस्थित भएमा पनि सांसदले फर्म भर्नुपर्नेछ। त्यस्तै, बैठकमा उपस्थित भएर बीचमै बाहिरिनुपरेमा वा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपरेमा समेत विवरण पेश गर्नुपर्नेछ।
रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार फर्ममा सांसदको नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, बैठकमा अनुपस्थित वा ढिला हुनुको कारणलगायतका विवरण राख्नुपर्नेछ।
सांसद बिरामी भएको अवस्थामा उपचार भइरहेको स्थानको विवरणसमेत पेश गर्नुपर्नेछ। निर्वाचन क्षेत्रमा जानुपरेमा जाने र फर्कने मितिसहितको तालिका बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, औपचारिक निमन्त्रणा वा विदेशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपरेमा त्यसको विवरण पनि फर्ममार्फत बुझाउनुपर्नेछ। विदेश जाने अवस्थामा आयोजक संस्था, कार्यक्रमको विवरण र सम्बन्धित निकायबाट प्राप्त अनुमति पत्रसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार निम्न चार अवस्थामा संसद् बैठक अनुपस्थिति आवेदन फाराम अनिवार्य रूपमा भर्नुपर्नेछ।
सांसदहरूलाई पठाइएको निर्देशनमा भनिएको छ, ‘कारणवश संसद् बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बीचमै छोड्नुपर्ने भएमा वा बैठकको बीचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद् बैठक अनुपस्थित आवेदन फाराम अनिवार्य पेश गर्न निर्देशन गरिन्छ।’
रास्वपाका नेताहरूका अनुसार यो व्यवस्था सांसदको हाजिरी मात्रै हेर्ने उद्देश्यले नभई संसद्प्रतिको जिम्मेवारी र जवाफदेहितासँग जोडिएको हो। बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने अवस्थासम्मको विवरण एकीकृत गरेर संसद् गतिविधिलाई थप व्यवस्थित बनाउने पार्टीको उद्देश्य छ।
यसअघि २६ साउनको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक नै स्थगित भएको थियो। उक्त घटनाका कारण सरकारी विधेयक अगाडि बढाउने प्रक्रिया प्रभावित भएको थियो।
प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्। सदनको कामकारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउने प्रमुख जिम्मेवारी सत्ता पक्षको हुने भएकाले सांसदको उपस्थितिलाई थप व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको रास्वपाको भनाइ छ।
विशेषगरी २६ साउनको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न आवश्यक ६९ जना सांसदको गणपूरक संख्या समेत नपुगेपछि रास्वपाले आफ्ना सांसदको उपस्थिति र गतिविधिलाई व्यवस्थित रूपमा अनुगमन गर्न यो प्रणाली अघि सारेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend