जन आकाश
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेलमा स्कारपियो दुर्घटनामा गम्भीर घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार उनलाई बिहान १०ः०४ बजे अस्पताल पुर्याइएकोमा उपचारका क्रममा १०ः२९ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार बडुको शव छाउनी अस्पतालमै राखिएको छ। उनी रजिस्ट्रार तारादत्त बडुकी श्रीमती हुन्।दुर्घटनामा घाइते भएका चार जनालाई मंगलबार बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको काठमाडौंमा उपचार भइरहेको छ।
यसअघि दुर्घटनामा घाइते भएका स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६, जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend