जन आकाश
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेको बैठकमा सञ्चालन हुने जानकारी गराएका हुन्।
सभामुख अर्यालले प्रश्नोत्तर कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीलाई प्रश्न सोध्न इच्छुक सांसदलाई आफ्नो नाम टिपाउन आग्रह गरेका छन्।
उनका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने गरी बढीमा १५ वटा प्रश्न प्रधानमन्त्रीलाई सोध्न सकिनेछ।
‘प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँदछु,’ सभामुख अर्यालले बैठकमा भने।
प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग विपक्षी दलका सांसदहरूले गर्दै आएका थिए।
प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले यसअघि प्रतिनिधिसभा बैठकमा विरोधसमेत जनाएका थिए। विपक्षी दलको विरोधपछि सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।
भदौ १० गतेको प्रश्नोत्तर कार्यक्रममार्फत सांसदहरूले सरकारको कामकारबाही, समसामयिक विषय तथा सार्वजनिक सरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend