जन आकाश
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्।
ठाकुरले सोमबार पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्।
‘जाहेरी आएको छ। त्यसभित्रको सबै विवरण हेरिसकेका छैनौँ। प्रक्रियामा छ,’ एसएसपी कार्कीले भने। यद्यपि, जाहेरी कुन कसुरअन्तर्गत परेको हो भन्नेबारे उनले खुलाएनन्।
उपसभामुख ठाकुरले जनआस्था साप्ताहिकमा आफ्नो मानहानि हुने गरी समाचार प्रकाशित भएको भन्दै यसअघि सार्वजनिक रूपमै आपत्ति जनाएकी थिइन्। उनले उक्त विषयमा प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएकी थिइन्।
यसैबीच, पत्रकार श्रेष्ठ सोमबार नै सर्वोच्च अदालतको परमादेशपछि हाजिर जमानीमा रिहा भएका थिए। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो।
श्रेष्ठ रिहा भएकै दिन उपसभामुख ठाकुरले उनीविरुद्ध प्रहरीमा नयाँ जाहेरी दिएकी हुन्। जाहेरीपछि प्रहरीले त्यसको विवरण अध्ययन गरी कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउने जनाएको छ।
यसअघि श्रेष्ठमाथि भएको कारबाही तथा पक्राउको विषयलाई लिएर प्रेस तथा पत्रकारिता क्षेत्रबाट समेत चासो र विरोध व्यक्त हुँदै आएको थियो। पछिल्लो जाहेरीले उपसभामुख ठाकुर र पत्रकार श्रेष्ठबीचको विवाद पुनः कानुनी प्रक्रियामा प्रवेश गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend