logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मधेशको आगामी बाटो,नयाँ नेतृत्व र अधिकार संरक्षणमा जोड


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, प्राप्त राजनीतिक उपलब्धि, वर्तमान चुनौती तथा आगामी राजनीतिक, सामाजिक र आर्थिक दिशाबारे छलफल गरिएको थियो।



प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा अधिवक्ता आनन्द गुप्तालगायतको सहभागिता थियो।

पूर्वन्यायाधीश लालले मधेशको पुरानो राजनीतिक नेतृत्वको परीक्षण भइसकेको भन्दै नयाँ नेतृत्व स्थापित हुन नसक्दा नेतृत्वको रिक्तता देखिएको बताए। जनताको वास्तविक समस्या र अपेक्षा सम्बोधन गर्न युवा पुस्ताले सक्रिय भएर नयाँ सोच, क्षमता र जनउत्तरदायित्वसहितको नेतृत्व निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान संशोधन मधेशका लागि संवेदनशील विषय भएको भन्दै प्राप्त अधिकार गुम्ने जोखिमप्रति सचेत हुनुपर्ने बताए। उनले उपलब्धिको संरक्षणसँगै थप अधिकारका लागि राजनीतिक पहल आवश्यक रहेको र मधेशकेन्द्रित दलहरूले आफ्नो कार्यशैली तथा संगठनमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका सहभागीहरूले मधेशको विगतको संघर्ष र उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमान चुनौतीको समाधानका लागि सक्षम नेतृत्व, स्पष्ट नीति र जवाफदेही राजनीतिक संरचना आवश्यक रहेको बताए। अधिकार संरक्षण, सुशासन, समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच विकास गर्नुपर्नेमा समेत उनीहरूले जोड दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend