logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विदेशस्थित नेपाली नियोगका आफ्नै भवन बनाउने सरकारको योजना


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित आफ्नै जग्गा भएका नेपाली नियोगका दूतावास तथा आवासीय भवन क्रमशः निर्माण गरी घरभाडामा हुने ठूलो खर्च घटाउने सरकारको योजना रहेको बताएका छन्।



प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विदेशस्थित नेपाली नियोगको भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनका अनुसार गत आर्थिक वर्षमा विदेशस्थित नियोगका घरभाडामा मात्रै १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको थियो।

इस्लामाबाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद भए पनि कानुनी तथा प्रक्रियागत जटिलताका कारण भवन निर्माण हुन सकेको थिएन।

मन्त्री खनालले सार्वजनिक खरिद ऐनमा भएको पछिल्लो संशोधनपछि विदेशस्थित नेपाली नियोगका भवन निर्माणका लागि स्पष्ट कानुनी आधार तयार भएको जानकारी दिए। मन्त्रालयले आवश्यक कार्यविधि निर्माणको गृहकार्यसमेत सुरु गरिसकेको उनले बताए।

हाल क्यानबेरा, रियाद र बैंककस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। क्यानबेरामा परामर्शदाता नियुक्त भई डिजाइन तथा इन्जिनियरिङसम्बन्धी काम अघि बढेको र यसै आर्थिक वर्षमा निर्माण सुरु गर्ने लक्ष्य रहेको मन्त्री खनालले बताए।

सरकारले चालु आर्थिक वर्षमा क्यानबेरा दूतावास भवनका लागि करिब ५० करोड, रियादका लागि १९ करोड २३ लाख र बैंककका लागि ८ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री खनालले आफ्नै भवन निर्माणबाट खर्चमा मितव्ययिता ल्याउनुका साथै विदेशमा नेपालको पहिचान र प्रतिनिधित्व झल्किने संरचना निर्माण हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend