जन आकाश
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको नेतृत्वमा ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्न माग गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानका आधारभूत मूल्य र उपलब्धिको संरक्षण गर्दै समयानुकूल सुधारका लागि आयोग गठन गर्नुपर्ने निर्णय गरेको हो। मंगलबार प्रवक्ता देवराज चालिसले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
कांग्रेसले संविधानलाई लोकतान्त्रिक संघर्ष र जनआकांक्षाको ऐतिहासिक उपलब्धि भन्दै बदलिँदो आवश्यकता र परिस्थितिअनुसार संशोधन आवश्यक रहेको जनाएको छ। संविधान संशोधनमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास प्रतिबिम्बित हुनुपर्ने उसको धारणा छ।
लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, संसदीय व्यवस्था, स्वतन्त्र न्यायपालिका, विधिको शासन, समावेशिता र मानव अधिकारजस्ता संविधानका आधारभूत मान्यतालाई कमजोर बनाउने गरी कुनै संशोधन गर्न नहुने कांग्रेसले स्पष्ट पारेको छ।
संविधान संशोधन संसद्को क्षेत्राधिकार भए पनि त्यसअघि सर्वपक्षीय राजनीतिक संवाद र जनमतको सहभागिता आवश्यक रहेको कांग्रेसले जनाएको छ। सरकारले राजनीतिक छलफलबिनै गैरराजनीतिक समिति गठन गरेर संविधान संशोधनजस्तो गम्भीर विषय अघि बढाएको आरोप लगाउँदै कांग्रेसले त्यसमा सहभागी नहुने आफ्नो पूर्वनिर्णय सही सावित भएको दाबी गरेको छ।
कांग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन संविधान संशोधनका लागि आवश्यक पहल र अग्रसरता जारी राख्ने जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend