जन आकाश
काठमाडौं । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याज, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट गरेकी छन्।
समस्या समाधानको माग गर्दै धर्नामा बसेका पीडितलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी मंगलबार पुल्चोक पुगेकी हुन्। उनले पीडितका समस्या र मागबारे जानकारी लिँदै उनीहरूको अवस्थाबारे चासो व्यक्त गरिन्।
मधेसका विभिन्न जिल्लाबाट पैदल मार्च गर्दै काठमाडौं आएका पीडितहरूले साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरू आयोगको कार्यालयबाहिर निरन्तर धर्नामा छन्।
धर्नाको पाँचौँ दिन मंगलबार पनि पीडितहरू विभिन्न माग लेखिएका प्लेकार्डसहित न्यायको माग गर्दै पुल्चोकमा बसेका थिए। मिटरब्याज, सहकारी तथा लघुवित्तको ऋणजाल र आवाससम्बन्धी समस्या समाधानको माग गर्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend