logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मोटरसाइकल दुर्घटनामा रास्वपा कपुरकोटका सभापति वेदबहादुर वलीको मृत्यु


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सल्यानको कपुरकोट गाउँपालिका–६ का ३४ वर्षीय वेदबहादुर वलीको मृत्यु भएको छ। वली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाका सभापति समेत थिए।



दाङको घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचाररत वलीको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।

मंगलबार बिहान करिब ११ः४५ बजे राप्ती राजमार्गमा वली सवार बा ६८ प २५२८ नम्बरको मोटरसाइकललाई लु १–००१ ख १११२ नम्बरको यात्रुवाहक गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा वलीसँगै मोटरसाइकलमा सवार कपुरकोट–६ कै ५२ वर्षीय शुकलाल वली पनि गम्भीर घाइते भएका थिए। शुकलाल, वेदबहादुरका काका हुन्।

दुवै घाइतेलाई उद्धार गरी कपुरकोटस्थित आधारभूत अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो। दाङ आइपुग्दा वेदबहादुरको स्वास्थ्य अवस्था थप चिन्ताजनक बनेपछि उनलाई तुलसीपुरस्थित राप्ती लाइभ केयर अस्पतालमा लगिएको थियो। चिकित्सकले नेपालगन्जसम्म लैजान कठिन हुने सल्लाह दिएपछि उनलाई घोराहीस्थित सञ्जिवनी टिचिङ अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घाइते शुकलालको टाउकोमा रगत जमेको बताइएको छ। उनको नेपालगन्जमा उपचार भइरहेको छ।कपुरकोट–६ का वडाध्यक्ष श्यामकृष्ण बोहराका अनुसार काका–भतिज तरकारीको हरहिसाब बुझ्न कपुरकोटतर्फ जाँदै थिए। उनीहरूले बिहानै हाटबजारमा तरकारी पठाएका थिए।

दुर्घटनामा संलग्न गाडीका चालक दाङको तुलसीपुर उपमहानगरपालिका–११ का २७ वर्षीय सुरज मिजारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पातलीले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend