logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष सांगठनिक तथा वैचारिक गतिविधि रोक्न माग गर्दै अदालत जाने तयारीमा जुटेको छ।



संस्थापनइतर पक्षका नेता मीनबहादुर विश्वकर्माले एक–दुई दिनभित्रै अदालत जाने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कांग्रेसमा सांगठनिक तथा वैचारिक कामकारबाही नगर्न–नगराउन माग गर्दै अदालतमा जाने विषयमा नेताहरूले अध्ययन गरिरहेका छन्।

‘नेपाली कांग्रेसमा सांगठनिक, वैचारिक कामकारबाही नगर्न–नगराउन माग गर्दै एक–दुई दिनमा अदालत जान्छौं। यसबारे साथीहरूले अध्ययन गर्दै हुनुहुन्छ,’ विश्वकर्माले बताए।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघि केन्द्रीय समिति बैठकले तय गरेको कार्यतालिकालाई यथावत् राखेको थियो। समितिले तल्ला तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर गरेको छ।

यसपछि कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष अदालत जाने तयारीमा जुटेको हो। देउवा पक्षले विशेष महाधिवेशनसम्बन्धी फैसलाको पुनरवलोकनको माग गर्दै यसअघि नै अदालतमा निवेदन दिएको थियो। अदालतले उक्त मुद्दामा पुनरवलोकनको अनुमति दिइसकेको छ।

अब संस्थापनइतर पक्षले पनि पार्टीका सांगठनिक तथा वैचारिक गतिविधिसम्बन्धी विषयलाई लिएर अदालतको ढोका ढकढक्याउने तयारी गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend