जन आकाश
काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभीतर्फ BYD Atto 2 र Nammi VIGO बीच कडा प्रतिस्पर्धा देखिएको छ। चीनमा उत्पादन भएका यी दुवै विद्युतीय एसयूभीको डिजाइन, आकार तथा फिचरमा धेरै समानता रहेकाले ग्राहकका लागि यी दुई मोडल प्रमुख विकल्प बनेका छन्।
मूल्यका हिसाबले भने BYD Atto 2 केही महँगो छ। Atto 2 को नेपाली बजार मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ भने Nammi VIGO को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ। यसरी VIGO, Atto 2 भन्दा ५ लाख रुपैयाँ सस्तो पर्छ।
आकारका हिसाबले पनि यी दुई एसयूभी निकै नजिक छन्। BYD Atto 2 को लम्बाइ ४,३१० मिलिमिटर छ भने Nammi VIGO को लम्बाइ ४,३०६ मिलिमिटर रहेको छ। अर्थात्, दुवै गाडीको लम्बाइमा केवल ४ मिलिमिटरको अन्तर छ।
ग्राउन्ड क्लियरेन्समा भने Atto 2 केही अगाडि छ। Atto 2 मा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ भने VIGO मा १९० मिलिमिटर छ।
BYD Atto 2 मा ५१.१३ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। Nammi VIGO मा भने ५२.८९ किलोवाट घण्टाको ब्याट्री उपलब्ध छ।
रेन्जका हिसाबले Atto 2 ले एकपटकको पूर्ण चार्जमा ३५४ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ भने VIGO ले ३५० किलोमिटर रेन्ज दिने बताइएको छ। ब्याट्री क्षमता VIGO को केही बढी भए पनि रेन्जमा Atto 2 झिनो अन्तरले अगाडि देखिन्छ।
टायरको आकारमा पनि दुवै गाडीबीच सामान्य अन्तर छ। BYD Atto 2 मा २१५/५५ आकारको टायर प्रयोग गरिएको छ भने Nammi VIGO मा २१५/६० आकारको टायर रहेको छ। यस हिसाबले VIGO को टायर साइडवाल केही अग्लो छ।
फिचरका हिसाबले BYD Atto 2 र Nammi VIGO मा ९० प्रतिशतभन्दा बढी सुविधा मिल्दोजुल्दो रहेको देखिन्छ। दुवै गाडीमा आधुनिक डिजाइन, विद्युतीय पावरट्रेन तथा विभिन्न स्मार्ट र सुरक्षा फिचर उपलब्ध छन्।
यही कारण समान सेग्मेन्टमा रहेका यी दुई विद्युतीय एसयूभीबीच नेपाली बजारमा प्रतिस्पर्धा थप रोचक बनेको छ। Atto 2 ले ब्रान्ड, केही प्राविधिक पक्ष र रेन्जमा बलियो उपस्थिति बनाउँदा VIGO ले तुलनात्मक रूपमा कम मूल्यमा समान स्तरका फिचर उपलब्ध गराएर ग्राहक आकर्षित गर्ने प्रयास गरिरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend