logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रास्वपामा मन्त्री र सांसदको कार्यशैलीबारे छलफल, प्रस्तुतिमा संयम अपनाउन रवि लामिछानेको जोड


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा हुने प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।



बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा संसदमा प्रस्तुत हुँदा मन्त्री तथा सांसदहरूले अपनाउनुपर्ने व्यवहार, भाषा र शैलीका विषयमा विशेष छलफल भएको बताइएको छ।

पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा केही मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित वा रुखो शैलीमा प्रस्तुत हुने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही सन्दर्भमा रास्वपाले आफ्ना सांसदसँग छलफल गरेको हो।

छलफलका क्रममा जनताका मुद्दालाई संसदमा प्रभावकारी, तथ्यपरक र मर्यादित ढंगले कसरी उठाउने भन्ने विषयमा पनि विचार–विमर्श भएको जनाइएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र प्रभावकारी बनाउन सभापति लामिछानेले जोड दिएका छन्।

पार्टीका सांसदहरूले संसदीय समिति तथा संसदमा असन्तुष्टि व्यक्त गर्दा कहिलेकाहीँ शैलीगत सन्तुलन गुमाउने गरेको भन्दै आलोचना भइरहेका बेला लामिछानेले त्यसमा सुधार गर्न निर्देशन दिएको बताइएको छ।

जनताका मुद्दा उठाउँदा आक्रोशभन्दा पनि तथ्य, तर्क र संसदीय मर्यादालाई प्राथमिकता दिनुपर्नेमा नेतृत्वले जोड दिएको जनाइएको छ। साथै, मन्त्री तथा सांसद दुवै पक्षबाट संसदमा हुने प्रस्तुतिले पार्टीको समग्र छवि र जनतामाझको विश्वासमा प्रभाव पार्ने भएकाले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend