logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

चार दिने नेपाल भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष सेठ आज स्वदेश फर्किँदै


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार नेपाल आएका थिए।



नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल–भारतबीचको आपसी हित तथा सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए। नेपाल बसाइका क्रममा उनले पशुपतिनाथ मन्दिर पुगेर पूजाआजासमेत गरेका थिए।

नेपाली सेनाका अनुसार मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले नेपाल र भारतबीचको परम्परागत सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।चार दिने भ्रमण पूरा गरी सेनाध्यक्ष सेठ आज भारत फर्किन लागेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend