logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

वर्षायाममा बिजुलीको महसुल घटाउने सरकारको तयारी


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौँ । वर्षायाममा विद्युत् उत्पादन बढेर बिजुली खेर जाने अवस्था देखिएपछि सरकारले विद्युत् महसुल घटाउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यले उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाइएको हो।



मन्त्री श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पुनरावलोकनका लागि समिति गठन गरेको छ। समितिले आज वर्षायाममा फरक दर लागू गर्ने ‘सिजनल ट्यारिफ’को सम्भावनाबारे छलफल गर्दैछ।

वर्षायाममा विद्युत् उत्पादन उच्च हुने र आन्तरिक खपत तथा निर्यातको क्षमता सीमित हुँदा बिजुली खेर जाने अवस्था आउने गरेको छ। यस्तो अवस्थामा विद्युत्को मूल्य घटाएर उद्योग तथा अन्य उपभोक्ताको खपत बढाउने सरकारको योजना छ।

सहुलियत दरमा विद्युत् उपलब्ध गराउँदा उद्योगको उत्पादन लागत घट्ने र त्यसबाट उपभोक्ताले समेत लाभ पाउने अपेक्षा गरिएको छ। विद्युत्को महसुल घटाएर उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने तथा देशभित्रै विद्युत् खपत विस्तार गर्ने विषयमा पनि समितिमा छलफल हुने बताइएको छ।

नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकनसम्बन्धी निर्णय छिट्टै गर्ने तयारी गरेको छ। सिजनल ट्यारिफ लागू भए वर्षायाममा विद्युत् प्रयोग गर्ने उपभोक्ता तथा उद्योगले हालको तुलनामा सस्तो दरमा बिजुली पाउने सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend