logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

 काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।



विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण र सरकार सञ्चालनका विषयमा छलफल हुने भएको छ। नेकपाका नेता कालीबहादुर मल्लका अनुसार विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच छलफल हुन लागेको हो।

एमाले र नेकपाबीचको छलफलपछि विश्वासको मत तथा सत्ता समीकरणका विषयमा अन्य दलसँग समेत छलफल गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री शाहीलाई सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ। त्यसपछि प्रदेश सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण र प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर काम अघि बढाउने मुख्यमन्त्री शाहीले बताएका छन्।

यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत साउन ९ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि साउन १२ गते नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अब शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएर आफ्नो नेतृत्वको सरकारलाई औपचारिक रूपमा अघि बढाउने तयारी गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend