जन आकाश
काठमाडौं । नेपालको अग्रणी तथा बहुचर्चित व्यावसायिक अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ को १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्यताका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालको तीव्र रूपमा विकसित हुँदै गएको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक अवस्थालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका कम्पनी तथा ब्रान्डले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै ल्युब, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीलाई समेत विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरिने आयोजकले जनाएको छ।
नवीनतम प्रविधि र उत्पादन मुख्य आकर्षण ,नाडा अटो शो २०२६ मा ‘फ्युचर मोबिलिटी’ तथा भविष्यमा यातायातका साधनमा आउन सक्ने प्रविधि र विकासको अनुभव गर्ने अवसरलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। विभिन्न ब्रान्डका नयाँ मोडलहरूको प्रोडक्ट लन्च, स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम समेत आयोजना हुनेछन्।
प्रदर्शनीको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु रहेको नाडाले जनाएको छ। यसमार्फत उपभोक्ताले बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा नवप्रवर्तनलाई प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।
छुट्टाछुट्टै जोन र सुरक्षा व्यवस्था,आगन्तुकको सहजताका लागि प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोन बनाइनेछ।
टिकट खल्ती एप मार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ। निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य टोलीको व्यवस्था गरिनेछ। त्यस्तै, सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगो नियन्त्रण तथा व्हीलचेयरमैत्री संरचनाको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था गरिनेछ।
दुई लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा नाडाले यस वर्षको अटो शोमा करिब दुई लाख आगन्तुक आउने अपेक्षा गरेको छ। प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ।
नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रवृत्ति, प्रविधि र उत्पादनको अनुभव गर्न आह्वान गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend