logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनएमबी बैंकले गर्‍यो ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । कालिकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुंगिएको छ। आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो।



कालिकोटस्थित तिला खोलामा एसएससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४ करोड रुपैयाँ रहेको छ। कुल लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीमार्फत जुटाइने भएको हो।

आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अग्रणी बैंक (लिड बैंक) का रूपमा रहेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अग्रणी बैंक (को–लिड बैंक) का रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा आयोजनाको ऋण लगानीमा सहभागी भएका छन्।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एसएससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

निजी क्षेत्रको लगानी तथा नेतृत्वमा निर्माण हुन लागेको तिला–१ जडित क्षमताका आधारमा नेपालका ठूला जलविद्युत् आयोजनामध्ये एक हो। विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले २०८७ पुस १५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्नुपर्नेछ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। आयोजनाले उत्पादन गर्ने विद्युत्ले नेपालको ऊर्जा आपूर्ति प्रणालीमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले आयोजनाको वित्तीय व्यवस्थापनसँगै यसको वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) पक्षलाई समेत मूल्यांकन गरिएको जनाएको छ।

बैंकका अनुसार हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) ले विकास गरेको हाइड्रोसेलेक्ट टुल’ प्रयोग गरी आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी प्रारम्भिक मूल्यांकन गरिएको हो।

एनएमबी बैंकले आफूले जलविद्युत् क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। बैंकका अनुसार हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ।

तिला–१ को वित्तीय व्यवस्थापन टुंगिएसँगै आयोजना निर्माणका लागि आवश्यक स्रोत जुटाउने महत्वपूर्ण चरण पूरा भएको छ। अब आयोजना निर्माणलाई निर्धारित समयभित्र सम्पन्न गर्ने चुनौती आयोजनासामु रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend