जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तत्काल मन्त्री हेरफेर गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कुनै पनि मन्त्रालय वा मन्त्रीले गरेका काममध्ये केही विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको बताए। रास्वपाभित्रै पनि मन्त्रीका कामबारे प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले मन्त्री फेर्ने विषयमा कुनै छलफल वा तयारी नभएको स्पष्ट पारे।
उनले भने, “कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा एक–दुई वटा वा चार–पाँच वटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो। त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ। रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्दछौँ। मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन।”
लामिछानेले आज भएको छलफल संसदीय दलको औपचारिक बैठक नभएको पनि बताए। उनका अनुसार सांसदहरूसँग सभापतिले गर्ने आन्तरिक छलफलका रूपमा बैठक आयोजना गरिएको हो। औपचारिक दलको बैठक भने पछि बस्ने र त्यसमा दलका नेता सहभागी हुने उनले जानकारी दिए।
आजको छलफलमा संसद्मा पार्टीका सांसदहरूले कसरी प्रस्तुत हुने भन्ने विषयमा मुख्य रूपमा कुराकानी भएको लामिछानेले बताए। संसद्मा मर्यादित ढङ्गले प्रस्तुत हुने तथा उठाइने विषयवस्तुलाई आम नागरिकको दैनिक जीवनसँग जोड्ने विषयमा छलफल भएको उनको भनाइ छ। संसद्मा प्रभावकारी र जिम्मेवार ढङ्गले प्रस्तुत हुने विषयमा साझा बुझाइ बनाएर अघि बढ्ने उद्देश्यले छलफल गरिएको लामिछानेले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend