जन आकाश
काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रा.लि.ले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।
कम्पनीले मनोहरामा स्थापना गरेको राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्कको बुधबार औपचारिक शुभारम्भ गरेको हो। शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले संयुक्त रूपमा सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्कको उद्घाटन गरेका हुन्।
शुभारम्भ कार्यक्रममा शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभी उपलब्ध गराउनेसँगै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र सेवा नेटवर्क विस्तारमा पनि कम्पनीले प्राथमिकता दिएको बताए।
राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले सवारी साधन बिक्रीपछि ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु, आवश्यक स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउनु र भरपर्दो चार्जिङ सुविधा निर्माण गर्नु कम्पनीको प्रमुख जिम्मेवारी भएको बताए। सोही प्रतिबद्धताअनुसार सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
कम्पनीका सीईओ मनोज खतिवडाले विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै बिक्रीपछिको सेवासँगै चार्जिङ नेटवर्क विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। कम्पनीले यही आवश्यकतालाई मध्यनजर गर्दै देशभर सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको उनले जानकारी दिए।
कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग, गट्ठाघरका प्रहरी नायव निरीक्षक बिक्रम बिकले विद्युतीय सवारी साधन सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा सडक सुरक्षाका विषयमा जानकारीमूलक प्रस्तुतीकरण दिएका थिए। ईभीमा आधुनिक प्रविधिको प्रयोग बढी हुने भएकाले चालक तथा प्रयोगकर्ता थप सचेत हुनुपर्ने उनले बताए।
मनोहरास्थित राठी अटो वर्क्समा ग्राहकले एकै स्थानबाट सवारी साधनको सर्भिसिङ, चार्जिङ र वासिङलगायतका सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विभिन्न सुविधा रहेको सर्भिस सेन्टरमा पर्याप्त पार्किङ, ग्राहकका लागि बस्ने स्थान तथा क्याफेको व्यवस्था गरिएको छ। साथै, वर्कशपमा भइरहेको सर्भिसिङ गतिविधि ग्राहकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।
सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्सलगायतका सामग्री स्टकमा राखिएको छ। सामान्य पार्ट्स नेपालका जुनसुकै स्थानमा ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीको दाबी छ।
राठी ट्रेडिङले काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र गतिमा चार्ज गर्न सकिने चार्जिङ स्टेसनमध्ये एक हो।
त्यस्तै, नवलपरासीको गैँडाकोटमा कम्पनीले ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसनसमेत सञ्चालनमा ल्याएको छ। यही वर्ष देशका प्रमुख सहरहरूमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ स्टेसन विस्तार गर्ने कम्पनीको योजना छ।
कम्पनीले मुख्य सहरहरूमा विभिन्न सुविधासहित ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विस्तार गर्ने जनाएको छ। यस्ता स्टेसनलाई ‘वान स्टप सोलुसन’का रूपमा विकास गर्ने कम्पनीको योजना रहेको छ।
राठी ट्रेडिङले शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।
आरजेडएम ई५ मा ५३.५ किलोवाट आवरको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिन्छ।
त्यस्तै, आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। यी ब्याट्रीले क्रमशः ३३० र ४०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ। ६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ लाई करिब ४५ मिनेटमा चार्ज गर्न सकिने दाबी गरिएको छ।
आरजेडएमका ईभी भ्यानमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, शक्तिशाली एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका फिचर रहेका छन्।
कम्पनीले नेपाली सडकमा सवारी साधनको परीक्षण गरी स्थानीय सडकको अवस्था र आवश्यकताअनुसार सुधार गर्दै आएको जनाएको छ। आरजेडएमका विद्युतीय सवारी साधनमा ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटर र अन्य प्रमुख कम्पोनेन्टमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend