logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३


काठमाडौं ।
 सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।



कम्पनीको आयोजनामा भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी समूहलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, एमडीआरटी (MDRT) हासिल गर्न सफल अभिकर्तालाई समेत विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।

सम्मानित अभिकर्तालाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादनका लागि प्रोत्साहित गर्दै कम्पनीले अभिकर्ताको योगदानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले आगामी दिनमा पनि अभिकर्ताबाट अझ उत्कृष्ट नतिजाको अपेक्षा रहेको उल्लेख गर्दै कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गर्दै आएको बताए।

कम्पनीले आगामी दिनमा अभिकर्ताको सेवा–सुविधा र व्यावसायिक विकासमा थप ध्यान दिने उनको भनाइ थियो।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै त्यसको महत्वपूर्ण श्रेय कम्पनीका अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए।

उनले आगामी दिनमा अभिकर्तालाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अघि बढाइने बताए। बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता, उत्कृष्ट अभिकर्ता, एमडीआरटी अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

सन नेपाल लाइफ इन्सुरेन्सले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend