logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भदौ ३१ देखि नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सुरु गर्ने जनाएको हो।



बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढेसँगै उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। उनका अनुसार नेपालगञ्जलाई पोखरासँग जोड्ने यो हवाई सेवा भारतको उत्तर प्रदेशबाट आउने धार्मिक पर्यटकका लागि समेत महत्वपूर्ण रहेको छ।

गत जेठ ५ गतेदेखि उक्त उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नुका साथै सञ्चालन खर्च तथा इन्धनको लागत बढी भएकाले सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै यात्रुको मागसमेत वृद्धि भएपछि उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालन हुनेछ। आइतबार, बुधबार र शुक्रबार उडान हुने गरी बुकिङसमेत खुला गरिएको छ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज–पोखरा हवाई सेवाले पश्चिम नेपालका साथै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखराबाट नेपालगञ्ज हुँदै बागेश्वरी मन्दिर तथा भारतको अयोध्यालगायत धार्मिकस्थलमा पुग्न सहज हुनेछ। त्यस्तै, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ भ्रमण गर्न पनि सहज हुने उनको भनाइ छ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालनमा आएको थियो। बीचमा स्थगित भएको उक्त सेवा पुनः सञ्चालनमा आएपछि पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend