logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

भदौ १९ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुँदै


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।



मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा विद्युत् तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, वायर तथा केबल, कन्डक्टर, स्वीच, एलईडी लाइट, इलेक्ट्रोनिक्स तथा घरेलु विद्युतीय उपकरण, सञ्चार तथा सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ।

नेपालमा बढ्दो जलविद्युत् उत्पादनको उपयोग, ऊर्जा दक्षता तथा विद्युतीय पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। यसले उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच व्यापारिक अवसर र प्रविधि आदानप्रदानको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, प्राविधिक, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) प्रदर्शनीका सहयोगी संस्था रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend