logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

नेपालसहित चार देशबीच पूर्वआगमन सूचना आदान–प्रदानसम्बन्धी समझदारी


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत नेपालसहित चार मुलुकका भन्सार प्रशासनबीच मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्ने समझदारी भएको छ।



नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारी भएको हो। माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ कस्टम सबग्रुप बैठकमा चार देशका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै त्यससम्बन्धी अग्रिम सूचना सम्बन्धित मुलुकबीच आदान–प्रदान हुनेछ। यसबाट जोखिम विश्लेषण तथा व्यवस्थापन गर्न सहज हुनुका साथै भन्सार जाँचपासलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भन्सार विभागका अनुसार पूर्वआगमन सूचना आदान–प्रदानले व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घटाउने तथा वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउन सहयोग गर्नेछ।

नेपालले यसअघि भारतसँग पनि यस्तै प्रकृतिको समझदारी गरिसकेको छ। आगमनअघि प्राप्त तथ्यांकका आधारमा जोखिमयुक्त वस्तुको निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई छिटो भन्सार जाँचपासको सुविधा दिन यस्तो प्रणाली उपयोगी हुने विभागको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend