जन आकाश
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधनका लागि आवश्यक संख्या नपुग्ने बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र समर्थन पर्याप्त नहुने स्पष्ट पारे।
‘कतिपय साथीहरूले सरकारले आँट गरोस्, हामी समर्थन गर्छौं भन्नुभएको छ। संख्या दिन्छौं भन्नुभएको छ। प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्ने नम्बर पर्याप्त होइन,’ उनले भने, ‘प्रतिनिधि सभाको मात्रले संविधान संशोधन हुन सक्दैन। यी लगायतका कुरा हामीले बुझ्नुपर्छ।’
सरकारलाई सहयोग गर्ने उद्देश्यले सांसदहरूले यस्तो धारणा राखेको भए त्यसलाई स्वागत गर्नुपर्ने उनले बताए। तर कुनै पनि विषयमा धारणा बनाउँदा तथ्य, कानुन र संविधानलाई ध्यान दिन उनले आग्रह गरे।
लामिछानेले संवैधानिक निकायमा नियुक्त भएकै आधारमा ती संस्थालाई कुनै दलसँग जोडेर हेर्न नहुने धारणा पनि राखे। संविधानले दिएको दायित्वअनुसार संवैधानिक निकायमा नियुक्ति हुने भन्दै उनले संस्थाको नेतृत्वमाथि आरोप लगाउने शैलीले सम्बन्धित संस्थाकै मानमर्दन हुन सक्ने बताए।
‘म व्यक्तिका पछि छैन, तर संस्थाको मानमर्दन नहोस् भन्ने हो। संस्थाहरूको क्षयीकरण गर्दै गयो भने त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ कि जस्तो लाग्छ,’ उनले भने।
कसैले कसैलाई नटेर्ने र एकअर्कामाथि विश्वास नगर्ने अवस्था लोकतान्त्रिक व्यवस्थाका लागि उपयुक्त नहुने पनि लामिछानेले बताए। संवैधानिक संस्थाहरूलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनका क्षेत्रमा प्रभावकारी काम गरोस् भन्ने अपेक्षा रहे पनि आयोगलाई आवश्यक स्रोत–साधन सम्पन्न बनाउन पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो।
अख्तियारलाई कानुनअनुसार काम गर्न सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हामी सरकारमा आएपछि अख्तियारमा कोही पनि नियुक्त हुनुभएको छैन। विभिन्न सरकार भएका बेला उहाँहरू सिफारिस हुनुभएको हो। अख्तियारलाई हामी कुनै हस्तक्षेप गर्दैनौं, यसले कानुनअनुसार काम गरोस्।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend